काठमाडौं । निर्वाचन आयोगले आज (आइतबार) एक प्रेस विज्ञप्ती जारी गर्दै राष्ट्रिय सभा सदस्यको उम्मेदवारले तीन लाख पचास हजार रुपैयाँसम्म खर्च गर्न सक्ने गरी हद तोकेको छ ।
उक्त खर्च मतदाता नामावली खरिद, सवारी साधन, इन्धन, प्रचार प्रसार सामग्री, ढुवानी, गोष्ठी, अन्तरक्रिया, प्रचार प्रसार, कार्यालय सञ्चालन, प्रतिनिधि परिचालन र विविध शीर्षकमा गर्न सकिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।
उम्मेदवारले बैङ्क वा वित्तीय संस्थामा छुट्टै खाता खोली खर्च गर्न र खर्च गर्ने पदाधिकारीसहितको विवरण निर्वाचन कार्यालयमा जानकारी गराउन पनि आयोगले निर्देशन दिएको छ ।
त्यसैगरी, निर्वाचन खर्चको विवरण निर्वाचन परिणाम घोषणा भएको तीस दिनभित्र आयोग वा निर्वाचन कार्यालयमा पेश गर्न समेत आयोगले निर्देशन दिएको छ ।
राष्ट्रिय सभा सदस्यको निर्वाचन यही माघ ११ गते हुदैछ ।