काठमाडौं । सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ लाई संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको छ ।
आज (बुधबार) बसेको मन्त्रिपरिषद बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश, २०८० जारी गर्न संविधानको धारा १२४ को उपधारा (१) बमोजिम राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय पनि गरेको छ ।
नेपालको संविधानको धारा १२४ को उपधारा ९१० ले सरकारले संसद अधिवेशन चालु नभएका बेला अध्यादेश ल्याउन सक्ने व्यवस्था गरेको छ । त्यसैअनुसार आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८० राष्ट्रपतिकोमा पठाउने निर्णय भएको मन्त्री शर्माले जानकारी दिइन् ।
त्यस्तै बैठकले नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वतकुमार कार्कीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ । आजकै बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड युगाण्डा भ्रमणमा जाने भएकाले उनको अनुपस्थितिमा काम गर्नका लागि उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई कार्यवाहक तोक्ने निर्णय पनि भएको मन्त्री शर्माले जानकारी दिइन् ।
मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण ६ निर्णयहरू
१) नागरिक लगानी कोषको रिक्त कार्यकारी निर्देशक पदमा श्री पर्वतकुमार कार्कीलाई नियुक्त गर्ने ।
२) आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश, २०८० जारी गर्न नेपालको संविधानको धारा १२४ को उपधारा ९१० बमोजिम राष्ट्रपतिसमक्ष सिफारिस गर्ने ।
३) राजनीतिक दलसम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्समक्ष पेस गर्न स्वीकृति दिने ।
४) सांस्कृतिक संस्थानको रिक्त महाप्रबन्धक पदमा सानीभेरी गाउँपालिका वडा नम्बर ६ रुकुमपश्चिमका श्री किरणबाबु पुनलाई नियुक्त गर्ने ।
५) नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको अध्यक्ष पदमा श्री रमेशचन्द्र न्यौपानेलाई मनोनयन गर्ने ।
६) सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक पदमा डा। रवि मल्ललाई नियुक्त गर्ने ।