गुल्मी । गुल्मीकी मनिषा जिसीले लोक सेवा आयोगद्वारा लिइएको विभिन्न पदका पाँच परीक्षा एक वर्षभित्रमा उत्तीर्ण गरेकी छिन् ।
धुर्कोट गाउँपालिका–३ हाडहाडेकी जिसीले एक वर्षभन्दा छोटो समय अवधिमा परीक्षा उत्तीर्ण गरेकी हुन् ।
उनले कोशी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्थानीय स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, बागमती प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ पाँचौं तह र सङ्घीय लोकसेवा आयोगअन्तर्गत स्वास्थ्य सेवातर्फ पाँचौं तह उत्तीर्ण गरेकी हुन् ।
उनले भनिन्, ‘सानैदेखि नर्सिङ विषय पढ्ने रहर थियो । छात्रवृत्तिमा स्टाफ नर्स अध्ययन पूरा गरी करिब पाँच वर्ष करार सेवामा काम गरेँ ।’ परिश्रमका कारण आफूलाई सफलता मिलेको उनको बताइन् । उनले एक महिना मात्र तयारी गरेर परीक्षा उत्तीर्ण हुन सफल भएको जानकारी दिइन् ।
‘स्टाफ नर्स उत्तीर्ण गरेपछि विदेश जानेको लर्को लाग्छ’, उनले भनिन्, ‘रुचि र इच्छा भयो भने नेपालमै सम्भव छ, विदेशमा कामलाई खर्चिने समय नेपालमै खर्चिएमा सफल हुन सहज छ ।’ उनले पढाइमा सहयोग गर्ने परिवारका सबै सदस्यलाई धन्यवाद दिइन् ।