काठमाडौँ । आज ७१ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक मानव पाइला टेक्न सफल भएको ७१ वर्ष पुगेको अवसरमा उक्त दिवस मनाउने गरिएको छ । यस वर्ष अन्तर्राष्ट्रिय सगरमाथा दिवसको नारा ‘विश्वको सर्वोच्च शिखर सगरमाथा, नेपालको पहिचान र गौरव’ रहेको छ ।
सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले सगरमाथाको चुचुरोमा पहिलोपटक पाइला टेकेको ७१ वर्ष पुगेको छ ।
यसैबीच आज मूल समारोह समितिले औपचारिक कार्यक्रममा कीर्तिमानी आरोही तथा सहयोगीलाई सम्मान गर्ने कार्यक्रम छ। सगरमाथा आरोहणका यो अवधिमा हालसम्म आठ हजारभन्दा बढीले सगरमाथा आरोहण गरिसकेका छन् ।
अर्थमन्त्री वर्षमान पुनद्वारा मङ्गलबार सङ्घीय संसद्का दुवै सदनको बैठकमा प्रस्तुत आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यमा प्रत्येक वर्ष मे २९ लाई सगरमाथा अन्तर्राष्ट्रिय विशेष दिवसका रुपमा मनाइने र हिमाली पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने स्वदेशी तथा विदेशी व्यक्ति, सङ्घसंस्थालाई सम्मान गरिने उल्लेख छ ।