काठमाडौँ । गृह मन्त्रालयका अनुसार नेपाली नागरिकता त्याग्नेको संख्या अघिल्लो वर्षभन्दा यस वर्ष बढेको छ । चालु आर्थिक वर्षको १० महिनामा १ हजार २२५ जनाले नेपाली नागरिकता त्याग गरेको पाइएको छ ।
बसाइँसराइका साथै वैदेशिक रोजगारी र अध्ययनका लागि गएर स्थायी बसोबास गर्ने प्रवृत्ति बढेसँगै नागरिकता त्याग्नेको संख्या बढेको हो ।
गृह मन्त्रालयका अनुसार गत आर्थिक वर्षमा नेपाली नागरिकता त्याग्नेहरु २३७ जना थियो जुन हालको तुलनामा पाँच गुणाले कम हो ।
अध्यागमन कार्यालयका अनुसार सन् २०२३ मा मात्र झन्डै ७१ हजार नेपालीहरूले स्थायी बसोबासको अनुमति पत्र (पीआर) लिएर नेपालबाट बाहिरिएका थिए । नेपालीहरू पीआर लिएर १०९ वटा देशमा पुगेका एउटा सरकारी आँकडाले देखाएको छ ।
२०२३ मा ३६ हजार ६७२ पुरुष, ३४ हजार २६७ महिला र १ जना अन्य लैङ्गिक पहिचान भएका व्यक्ति बाहिरिएको देखिन्छ । त्यसमध्ये झन्डै २१ हजार संयुक्त राज्य अमेरिका गएको तथ्याङ्कले देखाउँछ । त्यसपछि संयुक्त अधिराज्य र नर्दर्न आयरल्याण्डमा गरी १६ हजार २ सय भन्दा बढी अनि हङकङमा ११ हजार बढी नेपाली पीआर लिएर यात्रा गरेका छन् ।