सुनसरी । पूर्वी पहाडी क्षेत्रमा भारी वर्षापछि सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । पानीको बहाव बढ्दै गएपछि सप्तकोशीले खतराको संकेत पार गरेको छ ।
जलसतहमा भएको वृद्धिलाई दृष्टिगत गरी स्थानीय प्रशासनले कोसी ब्यारेजमा सबै ५६ वटा ढोका खोलेको छ ।
प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीका अनुसार ब्यारेजमा प्रतिघण्टा तीन लाख ६८ हजार क्युसेकभन्दा बढी पानी प्रवाह भएपछि सबै ढोका खोलिएका हुन् ।
सप्तकोसी जलमापन केन्द्रले जलसतह जोखिम विन्दुभन्दा माथि पुगेको बताएको छ । नदीको भेल उदयपुर र सुनसरीका केही क्षेत्रमा पस्ने जोखिम बढेको छ । तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन प्रमुख अधिकारी तिवारीले आग्रह गरेका छन् ।