लगनखेल (ललितपुर) । ललितपुरको लगनखेलस्थित श्रीराम फार्मेसीका सञ्चालक लक्ष्मण महर्जनलाई प्रहरीले पक्राउ गरेको छ । सञ्चालकविरुद्ध विभागले कानुनी कारबाही अघि बढाएको छ ।
औषधी व्यवस्था विभागको आग्रहमा उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले जानकारी दिनु भयो ।
औषधि व्यवस्था विभाग बबरमहलबाट खटिएको टोलीले अनुगमन गर्दा उनको फार्मेसीमा बिल नभएको २३० थान औषधि फेला परेको थियो । श्रीराम फार्मेसी मंगलबार नै सिल गरिएको छ ।
पछिल्लो समय विभिन्न फार्मेसीहरूले चिकित्सकको प्रेस्क्रिप्सनबिनै औषधि बिक्री गरेको पाइएको छ । यसरी बिक्री भएको औषधि लागुऔषध प्रयोगकर्ताले दुरुपयोग गर्ने गरेको प्रहरीले जनाएको छ ।