काठमाडौँ । भिरालो र पहिरोको जोखिम भएको जमिनमा २४ घण्टामा एक सय ५० मिलिमिटरभन्दा बढी पानी परेमा आपत्कालीन अवस्था लागू गर्नुपर्ने भूगर्भविद् डा रञ्जनकुमार दाहालले सुझाव दिएका छन् ।
त्रिभूवन विश्वविद्यालयका भू-विपद् विशेषज्ञ एवं अन्तर्राष्ट्रिय इञ्जिनियरिङ भू-विज्ञानका उपाध्यक्ष डा दाहालले आज राष्ट्रिय समाचार समितिसँग कुरा गर्दै विपद्को अवस्था हरेर आपत्कालीन अवस्था घोषणा नगरे अझै ठूलो धनजनको क्षति हुनसक्ने बताए ।
उनका अनुसार ठाडो काटिएका भिर अति जोखिम हुने भएकाले थप क्षति रोक्न आपत्कालीन अवस्था लागू गर्नुपर्नेछ । “मुग्लिङ सडकको पहिरोले आज बिहानै दुईवटा बस त्रिशुली नदीमा खस्दा करिब ६५ जना बेपत्ता भएका छन् । अरु केही गर्न नसके पनि एक दिनमा एक ४४ मिलिमिटरभन्दा बढी पानी परेको चेतावनी पाएपछि मुग्लिङ सडकमा आवागमन रोकेमा थप क्षति हुनबाट बच्न सकिन्छ”, भू-विपद् विशेषज्ञ दाहालले भने, “तत्काल सबै तहका सरकार खोजी तथा उद्धारमा संग्लन भई सुरक्षाका लागि सम्बन्धित सबै निकायलाई परिचालन गराउनुपर्छ ।”
पृथ्वीराजमार्ग र मुग्लिङ–नारायणगढ सडकमा पाँच हजारभन्दा बढी नेपाली सेना, सशत्र प्रहरी र नेपाल प्रहरी उद्धारमा खटिनुपर्नेमा दाहालले जोड दिए । भू–विपद्को यो विषम परिस्थितिलाई तत्काल उचित सम्बोधन गर्न आवश्यक रहेको उनले बताए ।
नारायणगढ-मुग्लिन खण्डको सिमलतालमा लेदोसहितको पहिरोले दुईवटा बस बगाउँदा त्रिशूली नदीमा करिब ६५ जना यात्री बेपत्ता भएका छन् । घटनास्थलमा पुग्नुभएका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान ३ः३० बजे काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको एञ्जल लेखिएको बस पहिरोले बगाउँदा त्रिशूलीमा खसेका हुन् । रासस