बागमती । नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गरेका छन् ।
मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत नदिने निर्णय गरिसकेको नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले कांग्रेस संसदीय दलका नेता लामालाई मुख्यमन्त्रीमा नियुक्त गर्न प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्ने तयारी गरेको हो ।
“दुई दलबीच पहिला नै मुख्यमन्त्रीमा कांग्रेसले दाबी पेस गर्ने सहमति भइसकेको छ”, लामाले भने, “कांग्रेस संसदीय दलको नेताको हैसियतले मुख्यमन्त्रीका लागि मेरो दाबी पेस हुन्छ, हाम्रो पार्टीभित्र मुख्यमन्त्रीका लागि कुनै विवाद छैन ।”
नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया सुरु हुनासाथ बहुमत प्रदेशसभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा कांग्रेसका नेता लामाले दाबी पेस गर्ने सहमति भएको एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले बताए ।
“मुख्यमन्त्री जम्कट्टेलले भोलि विश्वासको मत लिनुहुन्छ, उहाँले विश्वासको मत पाउन नसकेपछि नयाँ मुख्यमन्त्री चयनको प्रक्रिया सुरु हुन्छ”, थपलियाले भने, “प्रदेश प्रमुखले मुख्यमन्त्रीमा दाबी गर्न आह्वान गर्नुहुन्छ र त्यसलगत्तै हाम्रो दुई दलको तर्फबाट कांग्रेसका नेताले मुख्यमन्त्रीमा दाबी पेस गर्नुहुन्छ ।”
सङ्घीय सरकार निर्माणका क्रममा भएको नयाँ राजनीतिक समीकरणपश्चात बागमती सरकारबाट एमाले बाहिरिएपछि मुख्यमन्त्री जम्कट्टेलले प्रदेशसभाबाट विश्वास लिन लागेका छन् ।
विश्वासको मतका लागि भोलि दिउँसो १ बजे प्रदेशसभाको बैठक आह्वान गरिएको छ । प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलमध्ये कांग्रेस, एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नदिने निर्णय गरेको छ ।
कुल एक सय १० सदस्यीय प्रदेशसभामा कांग्रेसका ३७, एमालेका २७, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का २१, राप्रपाका १२, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को सात, नेमकिपाका तीन र हाम्रो नेपाल पार्टीका दुईजना प्रदेशसभा सदस्य छन् । रासस