काठमाडौं । भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरलाई उद्धार गरी स्वदेश फर्काइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराईलाई उद्धार गरेकोमा धन्यवाद दिएका छन् ।
प्रधानमन्त्रीका अनुसार रोजगारीको प्रलोभनमा बेचबिखन गरी कश्मीरको श्रीनगरमा ५ महिनादेखि बन्धक बनाइएका २८ जना नेपाली मजदुरहरूलाई मन्त्रालयको टोलीले उद्धार गरी नेपाल फर्काएको हो ।
सिराहाका २१ र धनुषाका ७ जना मजदुरलाई आजै जिल्ला मानव बेचबिखन नियन्त्रण समितिको जिम्मा लगाइएको प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । उनले सफलताका लागि महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराई सहित टोलीलाई धन्यवाद समेत दिएका छन् ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘रोजगारीको प्रलोभनमा बेचबिखन गरी कश्मीरको श्रीनगरमा ५ महिनादेखि बन्धक बनाइएका २८ जना नेपाली मजदुरहरूलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको टोलीले उद्धार गरी नेपाल फर्काएको छ । सिराहाका २१ जना र धनुषाका ७ जना मजदुरलाई आजै जिल्ला मानव बेचबिखन नियन्त्रण समितिको जिम्मा लगाइएको छ । उद्धारका लागि मन्त्रालयका सचिव दिनेश भट्टराई नेतृत्वको हाम्रो टोली सक्रिय थियो । मानव बेचविखनमा नियन्त्रण समितिले आजै सबैलाई घरघर पठाउने छ । उद्धार कार्यको सफलताका लागि मन्त्रालयका सचिव दिनेश भट्टराई सहित टोलीलाई धन्यवाद ।’



