काठमाडौँ । काभा महिला भलिबल नेसन्स लिग भलिबल प्रतियोगितामा नेपालले पहिलो पटक भारतलाई पराजित गरेको छ ।
स्पाइकरत्रय सरस्वती चौधरी, निरुता ठगुन्ना र उषा भण्डारीसँगै र लिवेरो सलिना श्रेष्ठको उच्च प्रदर्शनमा नेपाली महिला राष्ट्रिय भलिबल टोलीले भारतमाथि ऐतिहासिक जित दर्ता गरेको हो ।
काभा महिला भलिबल नेसन्स लिग अन्तरगत शनिबार भएको लिग चरणको खेलमा दक्षिण एसियाली जाइन्ट भारतलाई ३-२ को सेटमा पराजित गर्दै नेपालले ऐतिहासिक जित निकालेको हो । महिला भलिबलमा भारतमाथि नेपालको यो पहिलो जित हो ।
यसअघिका भेटमा नेपालले भारतलाई कडा चुनौती दिएपनि जित भने निकाल्न सकेको थिएन। सन् २०१९ मा नेपालमै भएको १३औ दक्षिण एसियाली खेलकुद (साग) अन्तरगतको खेलमा नेपाल जित नजिक पुगेर पनि जितबाट वचित बनेको थियो । त्यही बेला नै नेपालले भारतबाट सेटमा जित निकालेको थियो। गत वर्ष काभा नेसन्स लिग र एसियन गेम्समा पनि भारतसँग नेपाल निरिह बनेको थियो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा शनिबार भएको खेलको पहिलो सेट नेपालले सहजै २५–१८ ले सहजै आफ्नो पक्षमा पार्यो ।
एक समय ५–५ को बराबरीबाट नेपालले ११–६ को अग्रता कायम गर्न सफल भयो । त्यही अग्रतालाई कायम राख्दै नेपालले सेट आफ्नो पक्षमा पार्न सफल भयो।
दोस्रो सेटमा भने नेपालको प्रदर्शन फितलो बन्यो। भारतले उत्कृष्ट प्रदर्शन गर्दा नेपालको केही लागेन ।
दोस्रो सेट नेपालले १२–२५ ले सहजै गुमाउन पुग्यो। तेस्रो सेटमा भने नेपालले पहिलो सेटकै प्रदर्शनलाई निरन्तरता दिदै २५–१७ ले सहजै जित निकाल्यो ।