काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा आज (आइतबार) नयाँ सरकार गठन हुँदै छ ।
शुक्रबार मुख्यमन्त्री दीर्घ सोडारीले राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाँले आज साँझ ५ बजेसम्मको लागि नयाँ सरकार गठनको समय दिएका छन ।
दुई दलबीच सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कांग्रेसले पाउने सहमति भएको छ ।
सोही सहमति अनुसार काँग्रेसले आज मुख्यमन्त्रीमा दाबी पेस गर्ने छ । सुदूरपश्चिम प्रदेशमा ५३ जना प्रदेश सभा सदस्य छन् । मुख्यमन्त्रीलाई बहुमत पुराउन २७ सांसद आवश्यक पर्छ ।
त्यहाँ कांग्रेसका १८ र एमालेका ११ सांसद छन् । यी दुई दल मात्रै मिल्दा पनि बहुमत पुग्छ । नागरिक उन्मुक्ति पार्टीले पनि नयाँ सरकारलाई समर्थन गर्ने बताएको छ ।
कांग्रेस संसदीय दलका नेता कमल बहादुर शाह नै मुख्यमन्त्री बन्ने कांग्रेस भित्र सहमति भएको बताइएको छ ।
यसअघि प्रकाश देउवा र बहादुर सिंह थापाले पनि मुख्यमन्त्रीमा दाबी गर्दै आएका थिए ।
सभापति शेरबहादुर देउवाले शाहलाई मुख्यमन्त्री बनाउने गरी तयारी अगाडी बढाउन निर्देशन दिइसकेका छन् ।
पहिलो पाँच वर्ष माओवादीका त्रिलोचन भट्टले पुरै कार्यकाल मुख्यमन्त्री चलाएको सुदूरपश्चिम प्रदेशको दोस्रो कार्यकालमा भने अस्थिरता श्रृंखला बढ्दै गएको छ ।