काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले धरानको नेतृत्वबाट बिदा लिएर फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा होमिने भएका छन् । मेयर साम्पाङका साम्पाङका निकट सहयोगी तथा श्रम संस्कृति पार्टीका केन्द्रीय सदस्य समीर तामाङका अनुसार ‘उहाँ शतप्रतिशत लड्नुहुन्छ र तयारीमा जुटिसक्नुभएको छ।’
फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा सुनसरी-१ बाट धरानका मेयर साम्पाङले उम्मेदवारी दर्ता गर्ने तयारी थालेका हुन् । २०७९ को स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर धरान उपमहानगरको मेयर बनेका साम्पाङले आफ्नै नेतृत्वमा श्रम संस्कृति पार्टी निर्वाचन आयोगमा दर्ता गराइसकेका छन् ।
सहयोगी समीर तामाङका अनुसार फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि मेयर पद छाड्न साम्पाङ तयार छन् र उम्मेदवारी दर्ता अघि राजीनामा दिने योजना बनाएका छन् । उनका अनुसार श्रम संस्कृति पार्टीले देशैभरका सबै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिने तयारी गरिरहेको छ।
धरानमा लामो समय सामाजिक अभियन्ताका रूपमा सक्रिय साम्पाङले २०७९ मा मेयरमा २० हजार ८२१ मत प्राप्त गर्दै जीत हासिल गरेका थिए । स्वतन्त्र उम्मेदवारबाट निर्वाचित भएपछि उनले धरानमा श्रमदान अभियान सञ्चालन गरी खानेपानीको स्रोत थपेका थिए। जसले उनलाई थप लोकप्रिय बनाएको थियो।
साम्पाङले चुनाव लड्ने सुनसरी-१ क्षेत्र धरानका २० वटै वडा, बराह क्षेत्रका ५ वडाहरू र रामधुनी नगरपालिकाका ६ र ७ नम्बर वडाहरू समेटेको छ । यो क्षेत्रलाई परम्परागत रूपमा एमालेको किल्ला मानिन्छ ।



