काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गतेका लागि तोकिएको संघीय निर्वाचन तोकिएकै समयमै हुने स्पष्ट गरेका छन् ।
दक्षिण कोरियामा रहेका नेपाली पत्रकारहरूसँग गरेको अन्तर्क्रिया कार्यक्रममा उनले निर्वाचनका लागि आवश्यक राजनैतिक तथा सुरक्षात्मक तयारी पूरा भइसकेको जानकारी दिनु भयो ।
“फागुन २१ को निर्वाचन अब शङ्का गर्ने विषय रहँदैन,” मन्त्री खरेलले भने, “सुरक्षाको अवस्था राम्रो छ, नयाँ प्रहरी नेतृत्व सक्रिय छ, र कुनै पनि दलले निर्वाचनमा सहभागिताबारे अस्वीकार गरेको छैन । केही दलले सुरक्षाबारे चासो व्यक्त गरे पनि समग्र वातावरण अनुकूल छ ।”
सरकारका प्रवक्तासमेत रहेका मन्त्री खरेलले अन्तरिम सरकारको मुख्य लक्ष्य निर्वाचन सम्पन्न गर्नुका साथै सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी र नवप्रवर्तनलाई अघि बढाउने बताएका छन् । जेन-जी आन्दोलनको आधारमा बनेको सरकारले जनताको अपेक्षाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
एआई र डिजिटल रूपान्तरणलाई नेपालको भविष्यका आधारस्तम्भका रूपमा उल्लेख गर्दै उनले कोरियाबाट प्राप्त ज्ञान-सीप नेपालका लागि उपयोगी हुने बताउनु भयो । नेपालमा हालै स्थापित राष्ट्रिय एआई केन्द्रलाई प्रभावकारी बनाउन कोरिया सरकारसँग थप सहकार्यको अपेक्षा गरिएको पनि उनले बताए ।
विदेशमा रहेका नेपालीले शान्त, स्थिर र सुशासित नेपाल चाहने भन्दै मन्त्री खरेलले सरकारले गलत काम नगर्ने र पाँच महिनाभित्र केही महत्वपूर्ण संरचनागत परिवर्तनहरू देखिने विश्वास दिलाएका छन् ।
निर्वाचन प्रणाली सुधारको आवश्यकता र शासकीय स्वरूपबारे सर्वपक्षीय छलफल गरिने उनले बताए। विदेशमा रहेका नेपालीलाई मतदान प्रक्रियामा सहभागी गराउन कानुनी तयारी सुरु भइसकेको उल्लेख गर्दै अध्यादेशमार्फत पनि यो अधिकार सुनिश्चित गर्ने आश्वासन दिए ।
नेपाल एयरलाइन्सले दक्षिण कोरियामा सिधा उडानको सम्भावना निर्माण गर्न सरकार सक्रिय रहेको मन्त्रीले जानकारी दिनु भयो ।
कार्यक्रममा महासङ्घ दक्षिण कोरिया शाखाका कार्यवाहक अध्यक्ष सन्तोष खड्का, कोरियास्थित नेपाली राजदूतावासका द्वितीय उपाध्यक्ष जेमिन अधिकारी तथा एनआरएनए आइसिस्की महिला उपाध्यक्ष जुनु गुरुङलगायतले कोरियामा रहेका नेपालीको हकअधिकार, सहजीकरण र द्विपक्षीय सम्बन्ध मजबुत बनाउन गरिरहेका कामबारे जानकारी दिएका छन् ।



