काठमाडौँ । आज नोभेम्बर २५ अर्थात् महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवस। संयुक्त राष्ट्रसङ्घको महासभाले महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवस विश्वभर मनाउने निर्णय गरे बमोजिम आजदेखि डिसेम्बर १० सम्म विश्वभर सञ्चालन गरिने लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियान सुरु भएको छ। आजदेखि १० डिसेम्बरसम्म चल्ने विभिन्न अभियान, कार्यक्रमहरू सञ्चालन हुन्छन्।
शारीरिक, मानसिक, आर्थिक, राजनीतिकलगायत अन्य महिला हिंसाका अनेकन रूप छन् । प्रत्येक वर्ष महिला हिंसाविरुद्धको दिवसलाई महिला अधिकारकर्मीले भव्यरूपमा मनाए पनि र सरकारले विभिन्न प्रतिबद्धता जाहेर गरे पनि महिला हिंसाको अवस्था भने ज्यूँका त्यूँ छन् । अझै पनि महिलाहरु आर्थिक, सामाजिक, साँस्कृतिक तथा राजनीतिक रूपले विभेदीकरणमा परेका छन् भने शारीरिक र यौनिक हिंसाका शिकार भैरहेका छन् ।
मानव सभ्यातालाई ढुङ्गे युगदेखि आजको २१औँ शताब्दीको आधुनिक युगसम्म आइपुग्दा पनि जसरी समाज विकासक्रम अगाडि बढेको छ त्यही क्रममा आधाभन्दा बढी जनसंख्याको प्रतिनिधित्व गर्ने महिला माथि लैङ्गिक विभेद एवं हिंसाको घटनामा न्यूनीकरण आउन सकेको छैन । पितृसत्तात्मक संरचनामा जकडिएको नेपाली समाजमा महिला र पुरुष एउटै रथमा दुई पाङ्ग्रा एवं समानताको कुरा जतिसुकै गरिए पनि व्यवहारमा हिंसाको दुष्चक्रमा महिलाहरु भासिँदै जाने असहज परिस्थिति बन्दै गएको छ ।
महिलाहरु शारीरिक, मानसिक तथा मनोवैज्ञानिक रूपमा कमजोर हुन्छन् भन्ने सोचबाट विकसित समाज अझै आफैँमा भेदभावयुक्त छ ।



