काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री राजकुमार गुप्तालाई विशेष अदालतले थुनामा राख्न आदेश दिएको छ ।
बुधबार विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्यहरू डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासमा उपस्थित भएका गुप्ताको बयानपछि थुनछेक बहस भएको थियो । इजलासले बहसपछि उनलाई थुनामै राखेर मुद्दा अघि बढाउन आदेश भएको हो ।
पोखराको लिचीघारी जग्गासँग जोडिएको घुस प्रकरणमा संलग्न रहेको आरोपमा तत्कालिन मन्त्री गुप्तासहित ७ जनाविरुद्ध गत असोज २२ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र घुस लेनदेनमा जोडिएकी पूर्व भूमिसुधारमन्त्री रञ्जिता श्रेष्ठसमेतलाई प्रतिवादी कायम गरेर घुस लेनदेनको कसुरमा मुद्दा दायर भएको थियो । घुस लेनदेनमा संलग्न सुजन लामासहित पाँचजना बिचौलियालाई पनि अख्तियारले प्रतिवादी कायम गरेको थियो ।
बिचौलियासँग ७८ लाख घुसको बार्गेनिङ गरेको अडियो बाहिरिएपछि उनले गत असार ३१ मा राजीनामा दिएका थिए ।



