काठमाडौँ । म्याग्दीबाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार महावीर पुनले मतदातालाई पैसाको प्रलोभनमा नपर्न आग्रह गरेका छन् ।
चुनावी प्रचारका क्रममा पुनले पैसामा मत बेच्नु भविष्यका पुस्ताप्रति ठूलो धोका हुने बताएका हुन् ।
म्याग्दीका विभिन्न स्थानमा भएको चुनावी भेटघाटका क्रममा पुनले मत बेच्ने प्रवृत्तिको कडा आलोचना गर्दै पैसामा बिक्नु भनेको आफ्ना छोरा-नातिको भविष्य सिधै नष्ट गर्नु सरह हुने बताए। “दुई–चार हजार, पाँच-सात हजार वा आठ-दश हजारमा बिक्यो भने त्यो व्यक्ति सिधै नर्कमा जान्छ,” पुनले भने, “किनभने उसले भविष्यका छोरा-नातिलाई धोका दिएको हुन्छ।”
उनले पैसामा मत बेच्दा आउँदो पुस्ताको भविष्यमा गम्भीर असर पर्ने भन्दै यसलाई पापको संज्ञा दिए । “छोरा–नातिको श्राप लाग्छ,” पुनले भने, “पैसामा बिक्ने मान्छे श्राप लागेर सिधै नर्कमा जान्छ ।”
पुनको यो स्पष्ट र भावनात्मक चुनावी शैली अहिले सामाजिक सञ्जाल र सञ्चारमाध्यममा चर्चाको विषय बनेको छ। स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका पुनले आफू निर्वाचित भए युवाहरूसँग सहकार्य गर्दै विकास र परिवर्तनका काम अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरिरहेका छन् ।



