काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न जिल्ला र निर्वाचन क्षेत्रको मतपत्रको नमूना सार्वजनिक गरेको छ ।
आयोगले सातवटै प्रदेशका क्षेत्रको मतपत्रको नमूना सार्वजनिक गरेको हो ।
त्यसमा एउटा मात्र निर्वाचन क्षेत्र भएको जिल्लाको एक प्रकारको र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको बेग्लै मतपत्र छ ।
नमूना मतपत्र मतदाता शिक्षाका लागि प्रयोग हुने आयोगले जनाएको छ ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार उम्मेदवारको सङ्ख्याका आधारमा पनि मतपत्रको नमूना तयार पारिएको छ।
उम्मेदवार धेरै भएका निर्वाचन क्षेत्रका मतपत्रको आकार तुलनात्मक रूपमा ठूलो र कम उम्मेदवार भएका निर्वाचन क्षेत्रमा सानो मतपत्र छापिएको छ।
कर्णाली प्रदेशका सल्ल्यान, डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट र रुकुमपश्चिममा एउटा मात्रै निर्वाचन क्षेत्र छन्।
त्यसैगरि दैलेख र सुर्खेतमा दुईवटा निर्वाचन क्षेत्र छन्। ती जिल्लाको मतपत्रको नमूना पनि आयोगले सार्वजनिक गरेको छ।
यसैगरी, सुदूरपश्चिम प्रदेशका बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी र डडेलधुरामा एउटा मात्र निर्वाचन क्षेत्र कायम छन्।
अछाममा दुई, कञ्चनपुरमा तीन र कैलालीमा पाँच निर्वाचन क्षेत्र छन्। ती सबै निर्वाचन क्षेत्रको मतपत्रको नमूना पनि आयोगले सार्वजनिक गरेको छ।
समानुपातिक निर्वाचन प्रणालीतर्फका मतपत्रको छपाइ भइसकेको आयोगले जनाएको छ।



