काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले पाठेघरको मुखको क्यान्सर सुरुवाती अवस्थामा पहिचान भए उपचार गरेर निको हुने बताएकी छिन् ।
हिज (माघ २५) देखि सुरु भएको पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप अभियानको अवसरमा भिडियो सन्देश दिँदै उनले यस्तो बताएकी हुन् ।
मन्त्री गौतमले यो खोप पूर्ण रूपमा सुरक्षित रहेकाले निर्धक्कसँग लगाउन सबै किशोरी तथा अभिभावकहरूलाई अनुरोध गरेकी छिन् । साथै, उनले ३० वर्षभन्दा माथिका सबै महिलालाई नियमित रूपमा पाठेघरको मुखको परीक्षण (Screening) गराउन समेत आग्रह गरिन् ।
खोप अभियानको मुख्य जानकारी:
-
अवधि: माघ २५ देखि आगामी फागुन १५ गतेसम्म ।
-
लक्षित समूह: विद्यालयमा कक्षा ६ मा अध्ययनरत किशोरीहरू र विद्यालय बाहिर रहेका १० वर्ष उमेरका बालिका ।
-
छुटपुट समेटिने: गत वर्षको अभियानमा खोप लगाउन छुटेका कक्षा ७ देखि १० सम्मका किशोरी र ११ देखि १४ वर्षका विद्यालय बाहिरका बालिका ।
मन्त्री गौतमले भनिन्, “पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण एचपिभी भाइरसको सङ्क्रमण हो। खोपबाट यसलाई रोकथाम गर्न सकिन्छ। महिलाको जीवन रक्षा गर्ने यो अभियानमा आफ्ना बालबालिकालाई सहभागी गराउन अभिभावकले पनि प्रोत्साहन गर्नुपर्छ।”
नेपालमा पाठेघरको मुखको क्यान्सरको अवस्था भयावह देखिएको छ। तथ्याङ्क अनुसार यहाँ हरेक दिन औसतमा ६ जना महिलामा यो क्यान्सर देखिन्छ भने ४ जनाको ज्यान जाने गरेको छ। यही जोखिमलाई न्यूनीकरण गरी क्यान्सर निवारण गर्ने उद्देश्यले सरकारले गत वर्षदेखि एचपिभी खोपलाई नियमित अभियानका रूपमा सञ्चालन गर्दै आएको हो ।



