काठमाडौँ । चालू आर्थिक वर्ष २०८२/८३ को सात महिना (साउन–माघ) मा सरकारले कुल ६ खर्ब ६९ अर्ब ३२ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
अर्थ मन्त्रालयका अनुसार यो अवधिमा तय गरिएको लक्ष्यको तुलनामा ८२.२६ प्रतिशत उपलब्धि हासिल भएको हो ।
मन्त्रालयले माघ मसान्तसम्म ८ खर्ब १३ अर्ब ६३ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो ।
माघ महिनाको प्रगति विवरण माघ महिनामा मात्रै सरकारले ८७ अर्ब ९२ करोड रुपैयाँ राजस्व उठाएको छ। यो महिनाका लागि १ खर्ब २ अर्ब ४२ करोडको लक्ष्य निर्धारण गरिएकोमा ८५.८४ प्रतिशत सङ्कलन भएको हो ।
गत आर्थिक वर्षको माघ महिनाको तुलनामा यस वर्ष राजस्व सङ्कलनमा सुधार देखिएको छ। अघिल्लो वर्ष माघमा ८३ अर्ब ५१ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।
वार्षिक लक्ष्य र चुनौती सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि कुल १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व सङ्कलन गर्ने महत्त्वाकाङ्क्षी लक्ष्य लिएको छ ।
आर्थिक वर्षको सात महिना बितिसक्दा कुल लक्ष्यको ४५.२२ प्रतिशत मात्र सङ्कलन भएको देखिन्छ । बाँकी ५ महिनामा लक्ष्य भेटाउन सरकारले राजस्व चुहावट नियन्त्रण र करको दायरा विस्तारमा थप कडाइ गर्नुपर्ने देखिन्छ ।



