काठमाडौँ, ६ फागुन । विगत केही वर्षदेखि कच्चा पदार्थको अभाव र व्यवस्थापकीय कमजोरीका कारण धराशायी बनेको सिंहदरबार वैद्यखाना विकास समिति फेरि लयमा फर्कन थालेको छ । वि.सं २०७७ देखि ओरालो लागेको औषधि उत्पादन प्रक्रिया हाल तीव्र पारिएको छ भने संस्था घाटाबाट नाफामा जान थालेको छ ।
उत्पादनमा गुणात्मक वृद्धि : १२ बाट ८६ पुग्यो
वैद्यखाना विकास समितिका कार्यकारी निर्देशक प्रदीप केसीका अनुसार विगतमा उत्पादन ठप्प हुने अवस्थामा पुगेको केन्द्रले हाल आफ्नो उत्पादन दायरालाई फराकिलो बनाएको छ ।
-
विगत (२०७७ सम्म) : मात्र १२ प्रकारका औषधि ।
-
हाल (२०८२) : ८६ प्रकारका औषधि उत्पादन भइरहेका छन् ।
-
नयाँ कोशेढुङ्गा : १५ वर्षदेखि रोकिएको ‘स्वर्णभ्रष्म विन्दु’ को उत्पादन पुनः सुरु गरिएको छ ।
आर्थिक अवस्था : घाटाबाट नाफातिर
कुनै समय आम्दानीभन्दा २३३ प्रतिशत बढी खर्च हुने स्थितिमा पुगेको वैद्यखाना चालु आर्थिक वर्षको साउनयता नाफामा गएको छ । कार्यकारी निर्देशक केसीका अनुसार संस्थाले आन्तरिक समस्या समाधान गरेसँगै आर्थिक सन्तुलन कायम भएको हो ।
“केही समयअघिसम्म कर्मचारीलाई ७ महिनासम्म तलब खुवाउन नसक्ने अवस्था थियो । तर हाल नियमित उत्पादन र बिक्री सुरु भएपछि कर्मचारीले नियमित तलब पाइरहेका छन्,” केसीले भने ।
माग धान्नै गाह्रो : यी औषधिको छ उच्च माग
स्वदेशी र गुणस्तरीय आयुर्वेदिक औषधिको माग देशभर बढिरहेको छ। हाल वैद्यखानासँग करिब ४ करोड रुपैयाँ बराबरको औषधिको माग छ। तर, उत्पादन क्षमता अझै पनि मागको तुलनामा कम रहेकाले हाल सरकारी औषधालयहरूलाई मात्र प्राथमिकता दिइएको छ।
अत्यधिक माग भएका औषधिहरू :
-
शिलजित र च्यवनप्रास
-
निमिया (जोर्नी दुख्ने औषधि)
-
चन्द्र प्रभावटी र महायोगराज
-
कान्चानार र त्रिफला
कच्चा पदार्थको चुनौती र समाधान
यसअघि ठेकेदारले समयमा कच्चा पदार्थ आपूर्ति नगर्दा उत्पादन प्रभावित भएको थियो। २०८० पुसमा सम्झौता गर्ने ठेकेदारलाई कालोसूचीमा राखी २०८१ वैशाखमा नयाँ ठेक्का सम्झौता गरेपछि साउनदेखि उत्पादनले गति लिएको हो ।



