काठमाडौँ । टी-२० विश्वकपमा सोचेजस्तो नतिजा निकाल्न नसकेपछि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले आफ्ना राष्ट्रिय टोलीका खेलाडीहरू विरुद्ध कठोर कदम चालेको छ ।
प्रतियोगितामा फितलो प्रदर्शन गरी समर्थक र बोर्ड दुवैलाई निराश पारेका प्रत्येक खेलाडीलाई बोर्डले जनही ५० लाख पाकिस्तानी रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ । भारतीय समाचार एजेन्सी एएनआईका अनुसार, बोर्डले अबदेखि खेलाडीहरूलाई दिइने अतिरिक्त आर्थिक सुविधा र बोनसलाई पूर्ण रूपमा उनीहरूको खेलको गुणस्तर र नतिजामा आधारित बनाउने नीति अख्तियार गरेको छ ।
विशेष गरी चिरप्रतिद्वन्द्वी भारतसँगको महत्वपूर्ण खेलमा पराजित भए लगत्तै बोर्डले यो कडा निर्णय सुनाएको हो । यस कारबाहीले विभिन्न श्रेणीमा रहेका खेलाडीहरूलाई ठूलो आर्थिक धक्का लाग्ने देखिएको छ । हाल पाकिस्तानमा कुनै पनि खेलाडीलाई ‘ए’ श्रेणीमा नराखिएका कारण यो जरिवानाले ‘बी’ श्रेणीका खेलाडीको झन्डै एक महिनाको र ‘सी’ तथा ‘डी’ श्रेणीका खेलाडीको दुईदेखि चार महिनासम्मको तलब बराबरको रकम गुम्ने निश्चित भएको छ । बोर्डले राम्रो खेल्दा सम्मान र कमजोर प्रदर्शनमा सजाय भोग्नुपर्ने स्पष्ट सन्देश खेलाडीहरूलाई दिएको छ ।
यस पटकको विश्वकप यात्रा पाकिस्तानका लागि निकै चुनौतीपूर्ण रह्यो । समूह चरणमा नेदरल्यान्ड्स र अमेरिकालाई हराए पनि भारतसँग ६१ रनको लज्जास्पद हार व्यहोरेपछि टोलीको लय बिग्रिएको थियो । सुपर आठमा पुगे पनि वर्षा र इङ्गल्याण्डसँगको झिनो अन्तरको हारले पाकिस्तानको सेमिफाइनल यात्रामा पूर्णविराम लगाएको थियो । अन्तिममा श्रीलङ्कालाई पराजित गरे तापनि रनरेटमा न्युजिल्याण्डभन्दा पछि परेपछि टोली प्रतियोगिताबाट बाहिरिन पुग्यो । यही असफलताको भारी अहिले खेलाडीहरूको गोजीमा महँगो जरिवानाका रूपमा थुपरिएको छ ।



