काठमाडौँ । इरानमा हालै सुरु भएको भीषण युद्धका कारण मानवीय संकट गहिरिँदै गएको छ । अमेरिकामा रहेको मानव अधिकार कार्यकर्ता समाचार संस्था (एचआरएएनए) का अनुसार गत शनिबारदेखि सुरु भएको यस हिंसात्मक द्वन्द्वमा परेर हालसम्म कम्तीमा १ हजार ९७ जना सर्वसाधारणले ज्यान गुमाइसकेका छन् । मारिनेहरूमध्ये १८१ जना निर्दोष बालबालिकाहरू रहेको तथ्याङ्कले युद्धको भयावह स्वरूपलाई चित्रण गरेको छ ।
मङ्गलबार दिउँसोसम्मको तथ्याङ्क सार्वजनिक गर्दै उक्त संस्थाले युद्धमा ५ हजार ४ सयभन्दा बढी सर्वसाधारण घाइते भएको जानकारी दिएको छ । घाइते हुनेहरूमा करिब १०० जना बालबालिकाहरू रहेका छन्, जसको अवस्था चिन्ताजनक रहेको बताइएको छ । द्वन्द्वका कारण अस्पतालहरूमा घाइतेहरूको चाप बढेको र औषधि उपचारमा समेत कठिनाइ भइरहेको बुझिएको छ ।
मानव अधिकारवादी संस्था एचआरएएनएले अहिले सार्वजनिक गरिएको यो विवरण प्रारम्भिक मात्र भएको स्पष्ट पारेको छ । युद्धग्रस्त क्षेत्रहरूबाट विवरणहरू संकलन हुने क्रम अझै जारी रहेकाले ज्यान गुमाउने र घाइते हुनेहरूको वास्तविक सङ्ख्या योभन्दा धेरै माथि हुन सक्ने अनुमान गरिएको छ । हाल थप सयौँ मृत्युका घटनाहरूको पुष्टि गर्ने काम भइरहेको र युद्ध रोक्न अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराइएको छ ।



