सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया किशोरी इनिसा विकको बीभत्स हत्या र बलात्कार भएको तथ्य पोस्टमार्टम रिपोर्ट र प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। वीरेन्द्रनगर नगरपालिका–४ स्थित शहीद उद्यान नजिकैको जनजागरण सामुदायिक वनमा भएको यस जघन्य अपराधको प्रकृतिले सम्पूर्ण समाजलाई स्तब्ध बनाएको छ।
भेरी अस्पताल बाँकेका फरेन्सिक विशेषज्ञ डा. अर्विन शाक्य र कर्णाली प्रदेश अस्पतालका तीन चिकित्सक सम्मिलित टोलीले बुधबार पोस्टमार्टम रिपोर्ट सार्वजनिक गरेको छ। रिपोर्टका अनुसार जवर्जस्ती करणीका कारण किशोरीको संवेदनशील अङ्गमा गम्भीर चोट लागेको र पाठेघर समेत च्यातिएको देखिएको छ। सोही चोटका कारण भएको अत्यधिक रक्तस्रावले गर्दा उनको मृत्यु भएको चिकित्सकहरूको निष्कर्ष छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डिएसपी मोहनजङ्ग बुढथापाले भन्नुभयो, “पोस्टमार्टम रिपोर्ट र घटनास्थलको प्रकृति हेर्दा बलात्कारपछि नै किशोरीको मृत्यु भएको पुष्टि भएको छ। रिपोर्टमा उनको गोप्य अङ्गमा गहिरो घाउ देखिएको उल्लेख छ।”
प्रहरीले यस घटनामा संलग्न भएको आशङ्कामा हालसम्म चार जनालाई पक्राउ गरेको छ। पक्राउ परेका चारै जना १८ वर्षमुनिका नाबालकहरू रहेका छन्।
- फागुन २३ गते: घटना भएकै दिन प्रहरीले वीरेन्द्रनगर–९ का एक १६ वर्षीय किशोरलाई घटनास्थल नजिकैबाट नियन्त्रणमा लिएको थियो।
- फागुन २४ र २५ गते: थप अनुसन्धान र बयानका आधारमा प्रहरीले अन्य तीन जना किशोरहरूलाई पनि पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाएको छ।
प्रहरीका अनुसार पक्राउ परेका मध्ये एक जनासँग मृतकको लामो समयदेखि प्रेम सम्बन्ध रहेको बुझिएको छ। यद्यपि, परिवारले भने यो घटना ‘सामूहिक बलात्कार’ पछि गरिएको हत्या भएको दाबी गर्दै फागुन २५ गते किटानी जाहेरी दर्ता गराएका छन्।
वीरेन्द्रनगर–६ स्थित उषा बालबाटिका विद्यालयमा कक्षा ११ मा अध्ययनरत इनिसा फागुन २३ गते शनिबार बिहान ६ बजे घरबाट निस्किएकी थिइन्। ८ बजेसम्म फर्किने बताएकी उनी अबेरसम्म सम्पर्कमा नआएपछि परिवारले खोजी सुरु गरेका थिए। बिहान ९ बजेतिर एक अपरिचित नम्बरबाट फोन आएपछि परिवारले उनलाई शहीद पार्क नजिकैको जङ्गलमा रक्ताम्मे र बेहोस अवस्थामा फेला पारेका थिए।
घटनास्थलमा लुगा च्यातिएको, कपाल लुछिएको र घिसारेको स्पष्ट चिन्हहरू भेटिएका थिए। उनलाई तत्काल अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
दोषीलाई कडा कारबाही र पीडित परिवारलाई न्यायको माग गर्दै सुर्खेतमा विभिन्न नागरिक समाज, मानवअधिकारवादी संस्था र विद्यार्थीहरूले प्रदर्शन गरिरहेका छन्। पीडित पक्षले वास्तविक अपराधीहरूले कडा सजाय नपाएसम्म र न्यायको पूर्ण ग्यारेन्टी नभएसम्म शव नबुझ्ने अडान लिएका छन्। हाल किशोरीको शव प्रदेश अस्पतालको शवगृहमा राखिएको छ।



