काठमाडौँ । अविरल वर्षाका कारण देशका मुख्य राजमार्ग तथा सहायक सडकहरूमा क्षति पुग्दा नेपालका विभिन्न भूभागमा सवारी आवागमन ठप्प भएको छ ।
बाढी, पहिरो, सडक कटान तथा लेदोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध बनेपछि यात्रु तथा चालकहरू समस्यामा परेका छन् ।
विपद्को जोखिमलाई ध्यानमा राख्दै काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी सञ्चालनमा पूर्ण रोक लगाइएको छ । सो खण्डमा बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने गाडी चल्न दिइनेछ । यस्तै, मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण जोखिम बढेकाले साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म गाडी चलाउन प्रतिबन्ध लगाइएको छ ।
इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा बाटोभरि हिलो जमेपछि यातायात पूर्ण रूपमा रोकिएको छ । सिन्धुपाल्चोकस्थित अरनिको राजमार्गका जिरोकिलो र कोदारीमा माथिबाट पहिरो खसेको छ भने लिपिङमा सडक भासिएकाले आवागमन ठप्प छ । रसुवाको उत्तरगया–५ खाल्टेस्थित त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडकमा त्रिशूली नदीले कटान गर्दा पासाङ ल्हामु सडकखण्ड क्षतिग्रस्त बनेको छ ।
यसैगरी, रुकुम पश्चिमको रिजेगार्ड खोलामा खसेको पहिरोले भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्ड अवरुद्ध भएको छ भने तेह्रथुमको काडेस्थित पिङवा खोलानजिक पहिरो जाँदा मध्यपहाडी लोकमार्गसमेत बन्द भएको छ । नेपाल प्रहरीले राजमार्ग सफा गर्ने काम भइरहेको जनाउँदै जोखिमपूर्ण सडकमा यात्रा गर्नुअघि अद्यावधिक अवस्था बुझ्न यात्रुहरूलाई आग्रह गरेको छ ।

