काठमाडौँ । विश्वभरका आदिवासी जनजातिको अधिकार र पहिचानलाई संस्थागत गर्ने उद्देश्यका साथ नेपालमा पनि ३२औँ अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस मनाइँदै छ ।
संयुक्त राष्ट्रसङ्घले सन् १९९४ मा अगस्ट ९ तारिखलाई विश्व आदिवासी दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । सोही निर्णयपश्चात् हरेक वर्ष यस दिनलाई आदिवासी समुदायको हक, हित र अधिकारका विषयमा छलफल तथा विविध सांस्कृतिक कार्यक्रम गर्दै मनाउने गरिएको छ ।
राष्ट्रसङ्घको आदिवासी अधिकारसम्बन्धी घोषणापत्र (UNDRIP) को धारा १४ ले आदिवासी समुदायलाई आफ्नो भाषा, संस्कृति, रीतिरिवाज र परम्परा अनुकूलको शैक्षिक प्रणाली तथा संस्थाहरू स्थापना गरी सञ्चालन गर्ने पूर्ण अधिकार प्रदान गरेको छ ।
यसै व्यवस्थालाई स्मरण गर्दै नेपालका आदिवासी जनजाति सङ्घसंस्थाहरूले आज विभिन्न जनचेतनामूलक तथा सास्कृतिक झाँकीसहितका कार्यक्रम आयोजना गर्दै छन् ।

