काठमाडौँ । उपत्यकामा खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भइरहेको खबर प्राप्त भएपछि सरकारले अनुगमन तीव्र पारेको छ ।
गृह मन्त्रालय र उद्योग मन्त्रालयको संयुक्त पहलमा काठमाडौँ उपत्यकाका विभिन्न ग्यास डिपोहरूमा आइतबार बिहानैदेखि सादा पोसाकका प्रहरी परिचालन गरी निगरानी बढाएको हो। भारतबाट ग्यास आयात निरन्तर भइरहे पनि बजारमा अस्वाभाविक अभाव देखाई बढी मूल्यमा बिक्री गरेको गुनासो मन्त्रालयमा परेको थियो ।
ग्यास लुकाउने, तोकिएको दरभन्दा बढी मूल्य लिने वा उपभोक्तालाई दुःख दिने जुनसुकै गतिविधिलाई तत्काल कारबाहीको दायरामा ल्याइने जनाइएको छ। काठमाडौँको अनुगमनको नतिजाका आधारमा आवश्यकता अनुसार देशका अन्य जिल्लाहरूमा समेत सादा पोसाकमा प्रहरी टोली खटाउने तयारी गृह मन्त्रालयले गरेको छ ।

