काठमाडौँ । चलचित्र विकास बोर्डले आफ्नो २६औँ वार्षिकोत्सवको अवसर पारेर ‘ओल्ड इज गोल्ड’ शीर्षकमा पुराना नेपाली चलचित्रको विशेष प्रदर्शनी सुरु गरेको छ।
नयाँ पुस्तालाई नेपाली चलचित्रको ऐतिहासिक विरासतसँग परिचित गराउनुका साथै पुराना चलचित्रको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो। काठमाडौँको चाबहिलस्थित फिल्म बोर्ड चोकमा रहेको बोर्डको आफ्नै हलमा साउन २२ गते शुक्रबारदेखि सुरु भएको यो प्रदर्शनी साउन २७ गते बुधबारसम्म सञ्चालन हुनेछ।
प्रदर्शनी अवधिभर नेपाली चलचित्रको इतिहासमा खास अर्थ राख्ने १० वटा चर्चित चलचित्रहरू पूर्ण रूपमा निःशुल्क देखाइने व्यवस्था मिलाइएको छ। तत्कालीन शाही नेपाली चलचित्र संस्थानबाट निर्माण भई बोर्डको सङ्ग्रहालयमा डिजिटाइज गरेर सुरक्षित राखिएका यी चलचित्रहरूलाई पुनः दर्शकमाझ पुर्याउन यो प्रयास गरिएको हो।
प्रदर्शनीको पहिलो दिन साउन २२ गते हिरासिंह खत्री निर्देशित पहिलो नेपाली चलचित्र ‘आमा’ देखाइएको थियो। दोस्रो दिन साउन २३ गते प्रकाश थापाको निर्देशनमा बनेको ‘सिन्दुर’ र हिरासिंह खत्रीको ‘परिवर्तन’ प्रदर्शन गरियो। साउन २४ गते आइतबार प्रकाश थापाको ‘मनको बाँध’ र प्रदीप रिमालको ‘के घर के डेरा’ प्रदर्शन गर्ने तालिका छ।
त्यसैगरी साउन २५ गते सोमबार प्रेमबहादुर बस्न्यात निर्देशित ‘कुमारी’ देखाइनेछ भने साउन २६ गते मङ्गलबार लक्ष्मीनाथ शर्माको ‘शान्तिदीप’ र हिरासिंह खत्रीको ‘हिजो आज भोलि’ प्रदर्शन हुनेछन्। प्रदर्शनीको अन्तिम दिन साउन २७ गते बुधबार लक्ष्मीनाथ शर्माको ‘बदलिँदो आकाश’ र प्रकाश थापाको ‘जीवनरेखा’ देखाइनेछ। एउटा मात्र चलचित्र प्रदर्शन हुने दिन शो दिउँसो १२ बजे र दुईवटा चलचित्र हुने दिन पहिलो शो बिहान ११ बजे तथा दोस्रो शो दिउँसो २ बजे सुरु हुनेछ।
पुराना चलचित्रमार्फत तत्कालीन समाज, संस्कृति, भाषा र जीवनशैलीबारे अध्ययन अनुसन्धान गर्न चाहने नयाँ पुस्ताका लागि यो प्रदर्शनी उपयोगी हुने बोर्डले जनाएको छ। हलमा सिट सङ्ख्या सीमित भएकाले इच्छुक दर्शकलाई पूर्वआरक्षण गर्न आग्रह गरिएको छ। यसका लागि ह्वाट्सएप नम्बर ९८६६६६५७५६ मा सम्पर्क गरेर सिट सुरक्षित गर्न सकिनेछ।

