काठमाडौँ । मुलुकभर मनसुन सक्रिय रहँदा विभिन्न भू-भागमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी न्यून चापीय रेखा हाल सरदर स्थानको आसपास अवस्थित छ ।
अहिले पहाडी तथा हिमाली भेगमा मौसम बदली रहेको छ भने कोशी, बागमती र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मधेश र कोशीको तराईमा आंशिक बादल लाग्दा गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिमका तराई क्षेत्रमा भने मौसम प्रायः सफा छ ।
दिउँसो पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्ने र थोरै स्थानहरूमा मध्यम वर्षा तथा हिमपातको आकलन गरिएको छ । त्यसैगरी मधेश, कोशी र बागमतीका तराई भू-भागका थोरै स्थान तथा बाँकी प्रदेशका तराई क्षेत्रका एक-दुई ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना छ ।
रातिको समयमा पनि देशभर मौसम बदली रहनेछ । कोशी, बागमती र गण्डकीका पहाडी तथा हिमाली भेगका केही स्थानमा पानी पर्ने तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

