काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ नामको नयाँ अभियान सुरु गर्ने तयारी गरेको छ ।
जनउत्तरदायी र पारदर्शी राजनीतिक अभ्यासलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ यो कार्यक्रम ल्याउन लागिएको जानकारी पार्टीका सहमहामन्त्री असिम शाहले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्ति अनुसार सरकारमा सहभागी रास्वपाका मन्त्रीहरू प्रत्येक महिना कम्तीमा एक पटक अनिवार्य रूपमा केन्द्रीय कार्यालयमा उपस्थित भएर सर्वसाधारण र कार्यकर्तासँग प्रत्यक्ष संवादमा जोडिनेछन् । यस कदमले आम नागरिकका आवाजलाई सिधै नीति निर्माणको तहसम्म पुर्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
यो कार्यक्रमलाई दैनिक दुई चरणमा विभाजन गरी सञ्चालन गरिनेछ । पहिलो चरणअन्तर्गत साँझ ५ बजेदेखि ६ बजेसम्म मन्त्रीहरूले सर्वसाधारणका गुनासा, अपेक्षा र सुझावहरू सुन्नेछन् । त्यसलगत्तै साँझ ६ बजेदेखि सुरु हुने दोस्रो चरणको ‘नेतृत्व संवाद’ मा मन्त्री, केन्द्रीय सदस्य र सांसदहरूबीच नागरिकका सुझाव एवं समसामयिक नीतिगत विषयमा छलफल हुनेछ ।
नागरिक, सरकार, संसद र पार्टी संगठनबीचको सम्बन्धलाई थप मजबुत बनाउँदै समस्या समाधानको साझा रणनीति बनाउनु यस अभियानको प्रमुख ध्येय रहेको छ । साथै, मन्त्रीहरूलाई जनताप्रति जवाफदेही बनाउन र नीति निर्माणमा जनआवाजलाई प्राथमिकता दिन यसले मद्दत पुर्याउने रास्वपाले जनाएको छ ।

