काठमाडौँ । संघीय संसदअन्तर्गत आज एकैसाथ चारवटा संसदीय समितिका बैठकहरू आयोजना गरिँदैछन् । जसअनुसार प्रतिनिधि सभातर्फका तीन र एक संयुक्त समितिको बैठक बस्न लागेको हो ।
संसद सचिवालयका अनुसार आज दिउँसो २ बजे बस्ने अर्थ समितिको बैठकमा रसुवामा आएको बाढीका कारण अर्थतन्त्रमा परेको असर तथा जलवायु वित्तसम्बन्धी अध्ययन उपसमितिले तयार पारेको प्रतिवेदनमाथि विस्तृत छलफल गरिनेछ ।
यस्तै, बिहान साढे ११ बजे अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आन्तरिक बैठक बोलाइएको छ । उक्त बैठकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अध्ययन भ्रमणका साथै अन्य समसामयिक विषयहरूमा केन्द्रित रहेर छलफल हुने जनाइएको छ ।
यसैगरी, बिहान १० बजेका लागि तय भएको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची छ ।
त्यस्तै, बिहान १०:३० बजे राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन (संयुक्त) समितिको बैठक बस्दैछ । उक्त बैठकमा गत भाद्र १० गते भोटेकोशी लगायतका नदीहरूमा आएको बाढी र जलवायु परिवर्तनले पारेको प्रभावबारे विषयविज्ञहरूसँग छलफल गरिने कार्यक्रम रहेको छ ।

