काठमाडौँ । आज सङ्घीय संसद अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाका गरी तीन वटा संसदीय समितिको बैठक बस्दै छ। बिहीबार प्रतिनिधि सभाका दुई र राष्ट्रिय सभाको एक समितिको बैठक फरक-फरक समयमा बस्ने तय भएको हो ।
प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान साढे ८ बजेदेखि सुरु हुँदै छ । उक्त बैठकमा जलवायु परिवर्तनका विषयमा विज्ञहरूसँग विचार-विमर्श गरिनुका साथै संयुक्त राष्ट्रसङ्घीय महासभामा परराष्ट्रमन्त्रीको सहभागिताका विषयमा छलफल हुने कार्यसूची रहेको छ ।
यसैगरी, बिहान ११ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘राष्ट्रिय सेवा दल विधेयक’ अध्ययन उपसमितिको प्रतिवेदनमाथि छलफल हुने जनाइएको छ ।
त्यस्तै, बिहान ११:१५ बजे राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक डाकिएको छ। उक्त बैठकमा विश्वव्यापी जलवायु परिवर्तनका कारण नेपालमा परेको गम्भीर क्षति, आगामी दिनमा हुने जलवायु परिवर्तन सम्मेलन तथा अन्तर्राष्ट्रिय कूटनीतिक प्रवर्द्धनका विविध विषयमा विषयविज्ञ एवम् सरोकारवाला सङ्घसंस्थासँग छलफल गर्ने कार्यसूची छ।

