कञ्चनपुर । महाकाली नदीमा आएको बाढीले दोधारा चाँदनीलाई मुख्य भूभागसँग जोड्ने ऐतिहासिक झोलुङ्गे पुल क्षतिग्रस्त बनाएको छ ।
बुधबार बिहान नदीमा आएको बाढीले पुलको मध्यभागको एक मुख्य पोल बगाएपछि यो संरचना चुडिएको हो । भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकालाई जोड्ने यस पैदलयात्री पुललाई देशकै लामो तथा एसियाकै दोस्रो लामो झोलुङ्गे पुलका रूपमा लिइन्थ्यो ।
एक हजार चार सय ५२ दशमलव ९६ मिटर लम्बाइ र एक दशमलव छ मिटर चौडाइ रहेको यो पुलबाट विसं २०६२ देखि नियमित रूपमा आवतजावत सञ्चालन हुँदै आएको थियो । महाकाली बाँधभन्दा दक्षिणतर्फ भारतीय सीमा नजिकै अवस्थित यस पुलको क्षतिसँगै स्थानीय बासिन्दाको दैनिक आवागमन र जनजीवन प्रभावित बनेको छ ।

