काठमाडौँ । गृह मन्त्रालयले ठूलो संख्यामा कर्मचारीहरूको हेरफेर गर्दै ६ जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी (सीडीओ) को पदस्थापन र कुल ५८ जना अधिकारीको सरुवा गरेको छ ।
पछिल्लो निर्णयअनुसार दैलेख र गुल्मीका सीडीओहरूको आपसमा जिम्मेवारी साटफेर गरिएको छ, जसअनुसार सहसचिव बद्रीनाथ गैह्रेलाई गुल्मी र सहसचिव आनन्द शारुलाई दैलेख पठाउने निर्णय भएको छ । त्यस्तै, रोल्पाका सीडीओ सहसचिव वासुदेव दाहाललाई पाँचथरको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सुम्पिएको छ ।
यसका साथै गृह मन्त्रालयले सातवटा जिल्लामा उपसचिव स्तरका कर्मचारीलाई नयाँ प्रमुख जिल्ला अधिकारीका रूपमा खटाएको छ ।
यसबाहेक विभिन्न जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी तथा अन्य प्रशासनिक भूमिकामा कार्यरत ४८ जना उपसचिवहरूको समेत एकैपटक सरुवा गरिएको छ ।

