काठमाडौँ । बाटो अवरुद्ध भएपछि वैकल्पिक पर्यटकमार्ग प्रयोग गर्दा ढुवानी खर्च अस्वाभाविक रूपमा बढेको जनाउँदै ग्यास उद्योगीहरूले प्रतिसिलिन्डर १०५ रुपैयाँ ३८ पैसाका दरले एलपी ग्यासको मूल्य बढाएका छन् ।
मुख्य राजमार्ग बिग्रिएर लामो र अप्ठ्यारो बाटोबाट ग्यास ओसारपसार गर्नुपरेकाले यो निर्णय लिनुपरेको ग्यास उद्योग संघले जनाएको छ ।
संघका पूर्वअध्यक्ष शिव घिमिरेका अनुसार वैकल्पिक मार्ग प्रयोग गर्दा प्रतिसिलिन्डर १८० रुपैयाँ ८० पैसासम्म अतिरिक्त खर्च थपिएको छ । यद्यपि, उपभोक्तालाई पर्ने भार कम गर्न बढेको सम्पूर्ण रकम नजोडी प्रतिसिलिन्डर १०५ रुपैयाँ ३८ पैसा मात्र समायोजन गरिएको उनको दाबी छ । ग्यासको अन्तर्राष्ट्रिय वा आधारभूत खरिद मूल्य स्थिर रहे पनि केवल ढुवानी भाडामा आएको भिन्नताका कारण यो स्थिति आएको व्यवसायीको भनाइ छ ।
सामान्यतया एलपी ग्यासको मूल्य नेपाल आयल निगमले तय गर्दै आएको छ । तर, ५० किलोमिटरभन्दा बढीको ढुवानी भाडा उद्योगी स्वयंले तोक्न पाउने कानुनी प्रावधानलाई टेक्दै यसपटक व्यवसायीहरूले आपसमै छलफल गरेर मूल्य बढाएका हुन् ।

