काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधि सभाको आज दिउँसो १ बजे बस्ने बैठकमा मुख्य गरी तीन विषयमा छलफल तथा प्रस्ताव पेस हुने भएको छ ।
संसद् सचिवालयका अनुसार आजको बैठकमा बालश्रमसम्बन्धी विधेयकका साथै भारतसँगको विद्युत् व्यापार र सामुद्रिक जैविक विविधतासम्बन्धी अन्तर्राष्ट्रिय सम्झौता पेस गर्ने कार्यसूची तय गरिएको छ ।
बैठकमा युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्नेछन् ।
यसैगरी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले नेपाल र भारतबीच भएको दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सम्झौता सदनसमक्ष पेस गर्ने कार्यक्रम छ ।
त्यस्तै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले संयुक्त राष्ट्रसङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गत राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरको सामुद्रिक जैविक विविधता संरक्षण तथा दिगो प्रयोगसम्बन्धी सम्झौता पेस गर्ने कार्यसूची रहेको छ ।

