काठमाडौँ । प्राकृतिक विपद्का कारण विद्युत् संरचनामा ठूलो क्षति पुग्दा देशका चार जिल्लामा नेपाल विद्युत् प्राधिकरणको सेवा पूर्ण रूपमा ठप्प बनेको छ ।
अविरल वर्षासँगै आएको हावाहुरी, बाढीपहिरो र चट्याङले प्रसारण तथा वितरण प्रणालीमा क्षति पुर्याएपछि मनाङ, मुस्ताङ, म्याग्दी र बागलुङमा विद्युत् आपूर्ति बन्द भएको हो । प्राविधिक टोलीहरूले प्रभावित क्षेत्रमा सेवा पुनः सञ्चालनका लागि प्रयास जारी राखेका छन् ।
कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गत म्याग्दीको दानादेखि पर्वतको कुश्मा खण्डमा रहेका २१ र २२ नम्बर टावरमा क्षति पुगेको छ । साथै, कुश्मा–नयाँबुटवल खण्डमा पनि समस्या देखिएको छ । प्रसारण लाइनमा आएको यो व्यवधानका कारण करिडोरमा जोडिएका करिब ३५८ मेगावाट क्षमताका जलविद्युत् आयोजनाको उत्पादन प्रभावित भएको छ ।
बाढीको तीव्र जोखिम बढेपछि कालीगण्डकी, माथिल्लो मादी, सुपर मादी, नामार्जुन मादी, सेती नदी, अपर दोर्दी, माथिल्लो मर्स्याङ्दी, मध्यमर्स्याङ्दी, मर्स्याङ्दी र मोदी लगायतका साना-ठूला विद्युत् केन्द्रहरू सुरक्षाका कारण बन्द गरिएका छन् । बाढीपहिरोले २२० केभी, १३२ केभी, ३३ केभी र ११ केभीका प्रसारण तथा वितरण संरचनाहरूमा व्यापक क्षति पुर्याएको जानकारी प्राधिकरणले दिएको छ ।
अहिले प्रभावित स्थानहरूमा क्षतिको यकिन विवरण सङ्कलन गर्ने र वैकल्पिक उपायबाट बिजुली दिने काम भइरहेको छ । सम्भव भएका ठाउँमा वैकल्पिक फिडरमार्फत आपूर्ति सुचारु गर्न प्राविधिक टोली खटाइएको छ । तर, लगातारको भारी वर्षा र मुख्य सडकहरू अबरुद्ध भएका कारण कतिपय दुर्गम स्थानमा मर्मत टोली र उपकरण पुर्याउन कठिन भइरहेको छ ।
सडक खुल्नासाथ मर्मतको कामलाई अझ तीव्र बनाइने प्राधिकरणले जनाएको छ । विपद्को समयमा ढलेका पोल वा भुइँमा खसेका तार नजिक नजान र विशेष सावधानी अपनाउन उपभोक्ताहरूलाई आग्रह गरिएको छ ।

