काठमाडौँ । भोटेकोशी बाढीपछि उत्पन्न संकटमा नेपाललाई विभिन्न मित्रराष्ट्र र अन्तर्राष्ट्रिय संघ-संस्थाहरूबाट निरन्तर राहत, आर्थिक तथा प्राविधिक सहयोग प्राप्त भइरहेको प्रधानमन्त्री बालेन्द्र शाहले जानकारी गराएका छन् ।
बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि छिमेकी देशहरू भारत, चीन, पाकिस्तान, श्रीलंका र बंगलादेशले खाद्यान्न, उद्धार सामग्री र प्राविधिक सहयोग उपलब्ध गराएका हुन् । भारतले हालसम्म पाँच चरण गरी ७४ टन सामग्री र विज्ञ टोली पठाएको छ भने चीनले ३० करोड रुपैयाँका साथै ५० टन राहत सामग्री पठाएको छ ।
प्रभावित स्थानमा शीघ्र यातायात सञ्चालन गर्न चीनसँग ३० वटा बेलीब्रिजका लागि अनुरोधसमेत गरिएको छ । त्यस्तै पाकिस्तानबाट ८६ टन राहत सामग्री आउने क्रममा छ भने श्रीलंकाले १० लाख अमेरिकी डलर सहयोगको घोषणा गरेको छ ।
यसैगरी अमेरिकाले ५ लाख डलर, अष्ट्रेलियाले १० लाख डलर र ड्रोन टोली, युएईले ८३ टन सामग्री र थप १ करोड डलर तथा कतारले ४० टन राहत सामग्री उपलब्ध गराएका छन् । युरोपेली मुलुकहरू बेलायत, युरोपेली संघ, स्विट्जरल्यान्ड, डेनमार्क, जर्मनी, आयरल्यान्ड, चेक गणतन्त्र, नर्वे, फ्रान्स, लक्जेम्बर्ग र लाटभियाले पनि नगद तथा राहत सामग्री सहयोग गरेका छन् ।
बहुपक्षीय निकायहरूमध्ये विश्व बैंकले १६ करोड ७० लाख डलरको सहुलियतपूर्ण ऋण र एसियाली विकास बैंकले बजेट तथा प्राविधिक अनुदान उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

