काठमाडौँ । वालिङ नगरपालिका-१ यवादीस्थित धनुबाँसे आयुर्वेद औषधालयको भवन निर्माण कार्य ठेकेदारको बेवास्ताका कारण विगत पाँच वर्षदेखि अलपत्र परेको छ ।
स्थानीय सर्वसाधारणलाई सहज स्वास्थ्य सेवा पुर्याउने लक्ष्यका साथ सुरु गरिएको उक्त आयोजनाको काम आधाभन्दा बढी बाँकी छँदै रोकिएको हो ।
संघीय सहरी विकास तथा भवन निर्माण कार्यालय पोखरा र सेफ इन्जिनियरिङ बिल्डर्स प्रालि चितवनबीच २०७७ फागुनमा १८ महिनाभित्र निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो । तर निर्माण कम्पनीले लगातार ढिलासुस्ती गरेपछि सहरी विकास विभागको पोखरास्थित आयोजना कार्यान्वयन एकाइले ठेक्का रद्द गर्ने चेतावनीसहित सूचना जारी गरिसकेको छ । इन्जिनियर लक्ष्मण लम्सालका अनुसार भदौ अन्तिमसम्म पनि काममा तदारुकता नदेखाएमा नियमानुसार ठेक्का तोडिनेछ ।
स्थानीय जनप्रतिनिधि र बासिन्दाले पटक-पटक ताकेता गर्दा पनि ठेकेदार पक्षले अटेरी गरिरहेको वालिङ-१ का वडाध्यक्ष पदमराज गुरुङको भनाइ छ । यता समयमै भवन नबन्दा औषधालय हाल भाडाको साँघुरो कोठाबाट सञ्चालन गर्न बाध्य छ ।
स्थान अभावकै कारण मेडिकल योगा, शिरोधाराजस्ता महत्त्वपूर्ण आयुर्वेदिक सेवाहरू ठप्प बनेका छन् भने हाल सामान्य परामर्श र औषधि वितरणमा मात्रै सेवा सीमित छ ।

