काठमाडौँ । नेपाली काँग्रेसभित्र आन्तरिक सरगर्मी बढिरहेका बेला पूर्व सभापति शेरबहादुर देउवाले आजदेखि सुरु हुने वडा अधिवेशनमा एकजुट भएर लाग्न पार्टीका सम्पूर्ण कार्यकर्तालाई आह्वान गरेका छन् ।
संस्थापन इतर समूहले आह्वान गरेको १५औँ महाधिवेशनअन्तर्गतका प्रारम्भिक चरणका कार्यक्रमहरू आजदेखि प्रारम्भ हुँदैछन् ।
देउवाले एक विज्ञप्ति जारी गर्दै मुलुकमा लोकतान्त्रिक प्रणाली, विधिको शासन र पूर्ण प्रेस स्वतन्त्रता कायम राख्न काँग्रेसले विगत आठ दशकदेखि निरन्तर संघर्ष र त्याग गर्दै आएको स्मरण गराएका छन् । यसै पृष्ठभूमिमा हुन गइरहेको पार्टीको १५औँ महाधिवेशनको विशेष राजनीतिक महत्त्व रहेको उनको भनाइ छ ।
देशभरका कूल छ हजार ७४३ वटै वडाहरूमा एकैपटक विधि र प्रक्रिया पुर्याएर अधिवेशन सुरु हुन लागेकाले सम्पूर्ण नेता तथा कार्यकर्तालाई उत्साहपूर्वक सहभागी भई यसलाई सफल पार्न देउवाले आग्रह गरेका छन् ।
यसैबीच, काँग्रेसभित्रको आन्तरिक समीकरणमा दुई फरक महाधिवेशन तालिका सार्वजनिक भएका छन् । संस्थापन पक्षले असोज १८ गतेदेखि महाधिवेशन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ भने देउवा सम्बद्ध संस्थापन इतर पक्षले आगामी मङ्सिर २१ गतेका लागि महाधिवेशनको मिति तय गरेको छ ।

