काठमाडौँ । जेष्ठ नागरिकले आफ्नो जीवनकालमा हासिल गरेको अनमोल ज्ञान, सीप र अनुभवलाई नयाँ पुस्तासम्म पुर्याउन सरकारले एउटा विशेष डिजिटल प्लेटफर्म तयार पार्ने भएको छ ।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ स्थापनाको कामलाई अगाडि बढाएको हो ।
बढ्दो सहरीकरण, बसाइँसराइ र खण्डित हुँदै गएको पारिवारिक ढाँचाका कारण पाका पुस्ताका अनुभवहरू लोप नहोऊन् भन्ने उद्देश्यले यो कदम चालिएको मन्त्रालयले जनाएको छ। आधुनिक डिजिटल प्रविधिमार्फत ज्येष्ठ नागरिकका सीप र ज्ञानलाई अभिलेखबद्ध गरिनेछ । यस प्रणालीबाट विद्यार्थी, युवा तथा नयाँ पुस्ताले उनीहरूका अनुभवबाट सिक्ने अवसर पाउनेछन् ।
मन्त्री सिता बादीका अनुसार ज्येष्ठ नागरिकहरू केवल संरक्षण र हेरचाह प्राप्त गर्ने वर्ग मात्र नभई समाजका अमूल्य मार्गदर्शक र ज्ञानका स्रोत हुन् ।
कृषि, उद्यमशीलता, शिक्षा, प्रशासन, कला-संस्कृति तथा परम्परागत ज्ञानका विविध क्षेत्रमा ज्येष्ठ नागरिकले आर्जन गरेको अनुभवलाई सुरक्षित राख्दै पुस्तान्तरण गर्ने लक्ष्य मन्त्रालयले राखेको छ ।

