काठमाडौँ । क्रिस्टियानो रोनाल्डोले पोर्चुगलको राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण क्याम्प छाडेका छन् । नेसन्स लिगअन्तर्गत बिहीबार डेनमार्कविरुद्ध हुने खेलअगावै उनले टोलीबाट बाहिरिने निर्णय लिएका हुन् ।
नेसन्स लिगको पहिलो खेलमा वेल्सविरुद्ध सुरुवाती ११ मा मैदान उत्रिएका रोनाल्डो ६७औँ मिनेटमा बाहिरिएका थिए, जुन खेल पोर्चुगलले १–० ले जितेको थियो । त्यसपछिको नर्वेविरुद्धको २–१ को जितमा भने उनी बेन्चमै सीमित रहे ।
नर्वेविरुद्धको खेलपश्चात् मुख्य प्रशिक्षक जोर्जे जेसुस र रोनाल्डोबीच सम्बन्ध चिसिएको समाचार बाहिरिएका थिए । प्रशिक्षक जेसुसले सुरुमा रोनाल्डोलाई टोलीको योजनामा राखिएको बताए पनि बुधबारको पत्रकार सम्मेलनमा भने यो अन्तर्राष्ट्रिय ब्रेकमा उनको भूमिकाबारे कुराकानी भइसकेको र डेनमार्कविरुद्ध उनले नखेल्ने स्पष्ट पारेका थिए ।
सोमबार र मंगलबार टोलीसँग अलग रहेर अभ्यास गरेका रोनाल्डो, मुख्य प्रशिक्षक जेसुस र पोर्चुगल फुटबल महासंघका अध्यक्ष पेड्रो प्रोएन्साबीच विवाद समाधानका लागि बैठकसमेत बसेको थियो । तर, अन्ततः रोनाल्डोले सामाजिक सञ्जालमार्फत क्याम्प छोड्ने निर्णय सार्वजनिक गरे ।
महासंघ अध्यक्षसँगको छलफलपछि टोली छाडेको बताउँदै उनले यसबारेको वास्तविक कारण उपयुक्त समयमा समर्थकमाझ ल्याउने जनाएका छन् । उनले टोली र सहकर्मी खेलाडीलाई आगामी खेलका लागि शुभकामनासमेत दिएका छन् ।
अन्तर्राष्ट्रिय पुरुष फुटबलमा सर्वाधिक १४६ गोल गरिसकेका रोनाल्डो करिअरको १,००० गोलको कोसेढुङ्गा चुम्ने लक्ष्यमा छन् । अब उनले अक्टोबर ४ मा नर्वेविरुद्ध हुने दोस्रो खेल पनि गुमाउनेछन् ।
नेसन्स लिगको समूह ‘ए४’ मा प्रशिक्षक जेसुसको नेतृत्वमा लगातार दुई जित निकालेको पोर्चुगल ६ अंकसहित शीर्ष स्थानमा छ ।

