धादिङ । पृथ्वी राजमार्गको मझिमटार खण्डमा स्थानीय तथा पैदल यात्रुलाई सुरक्षित रूपमा बाटो काट्न सहयोग पुर्याउने उद्देश्यले आकाशे पुल निर्माण भइरहेको छ ।
नागढुंगा मुग्लिङ सडक योजनाका अनुसार सडक विस्तार तथा स्तरोन्नतिको काम जारी रहँदा दुर्घटनाको जोखिम उच्च हुने भएकाले यात्रुको सुरक्षाका लागि यो कदम चालिएको हो । व्यस्त राजमार्गमा जथाभाबी बाटो काट्दा हुन सक्ने सम्भावित जोखिम न्यूनीकरण गर्न आकाशे पुल निकै प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
राजमार्गमा बढ्दो सवारी साधनको चाप र पैदल यात्रुको चापलाई मध्यनजर गर्दै सुरक्षात्मक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखिएको आयोजनाले जनाएको छ । पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आएपछि स्थानीयवासीले विना कुनै त्रास र जोखिम सुरक्षित रूपमा सडक वारपार गर्न सक्नेछन् ।

