पोखरा । उच्च शिक्षाको गुणस्तर अभिवृद्धि र प्रशासनिक सुदृढीकरणलाई जोड दिँदै पोखरा विश्वविद्यालयले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ७५ करोड ८० लाख रुपैयाँको बजेट स्वीकृत गरेको छ ।
ढुंगेपाटनस्थित केन्द्रीय कार्यालयमा आयोजित २६औँ साधारण सभाले यो बजेटका साथै नयाँ नीति तथा कार्यक्रमलाई सर्वसम्मतिले पारित गरेको हो ।
शिक्षा तथा खेलकुद मन्त्री एवम् सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा सम्पन्न उक्त सभामा उपकुलपति प्रा.डा. देवेन्द्र अधिकारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र रजिस्ट्रार प्रा.डा. निर्मला जमरकट्टेलले पेस गरेको बजेटलाई सभाले स्वीकृति दिएको हो । आगामी वर्ष विश्वविद्यालयले अनुसन्धान, नवप्रवर्तन, डिजिटल सेवा र रोजगारमुखी पाठ्यक्रमलाई मुख्य प्राथमिकतामा राख्ने जनाएको छ ।
यसै सभाबाट मानविकी तथा सामाजिक शास्त्र संकायलाई पुनर्गठन गरी ‘मानविकी, सामाजिक शास्त्र तथा कानुन संकाय’ बनाउने निर्णय भएको छ । साथै ललितपुरको च्यासलस्थित श्रमिक शान्ति क्याम्पसलाई विश्वविद्यालयको आंगिक क्याम्पसका रूपमा विस्तार गर्ने कार्यलाई समेत अनुमोदन गरिएको छ । बीई मेकानिकल, बीआईसीए, र बीबीए फाइनान्सजस्ता शैक्षिक कार्यक्रमहरूको उपाधि निर्धारण गर्नुका साथै विशेष मौका परीक्षा सञ्चालन गर्ने विषयमा पनि सभाले स्वीकृति प्रदान गरेको छ ।
कार्यक्रममा बोल्दै सहकुलपति पोखरेलले विश्वविद्यालयहरूलाई आ-आफ्नो विशिष्टताका आधारमा पहिचान बनाउन सुझाव दिए । उनले गण्डकी प्रदेशको भौगोलिक तथा सांस्कृतिक सम्भावनालाई ध्यानमा राख्दै साहसिक पर्यटनजस्ता क्षेत्रमा नयाँ शैक्षिक कार्यक्रम सुरु गर्नुपर्नेमा जोड दिए । समयमै परीक्षा सञ्चालन र नतिजा प्रकाशन गर्न, छात्रवृत्तिमा पारदर्शिता ल्याउन र विद्यार्थीले बुझाएको शुल्कअनुसार प्रयोगशाला तथा पुस्तकालय सुविधा सुनिश्चित गर्न पनि उनले निर्देशन दिएका छन् ।

