कालीकोट । पलाँता गाउँपालिका–९ मा रहेको पलाँता अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमाथि कुटपिट तथा अभद्र व्यवहार र भौतिक पूर्वाधारमा तोडफोड गरेको अभियोगमा तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार गत साउन २२ गते अस्पतालका चिकित्सक तथा नर्सहरूमाथि अभद्र व्यवहार गर्दै अनाधिकृत रूपमा प्रवेश गरेर तोडफोड गरिएको थियो । घटना लगत्तै अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय कालीकोटको टोलीले संलग्नताको आशङ्कामा तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ परेका व्यक्तिहरूमाथि हिरासतमा राखेर आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
अनुसन्धानबाट खुल्न आउने थप तथ्य र प्रमाणका आधारमा उनीहरूमाथि कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय कालीकोटको भनाइ छ ।

