Khaptad Organic Nepal

बाजुरा । धार्मिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्ण बाजुरास्थित बडीमालिका भगवती मन्दिर परिसरमा आजदेखि विशेष मेला तथा पूजाआजा औपचारिक रूपमा आरम्भ गरिएको छ ।

दर्शनार्थीको बढ्दो चाप र घुइँचोलाई ध्यानमा राख्दै जिल्ला समन्वय समितिले आयोजना गरेको सर्वपक्षीय बैठकले पूजा प्रक्रिया आजैदेखि सुरु गर्ने निर्णय गरेको हो ।

बडीमालिका भगवती मन्दिरका मुख्य पुजारी नेत्र पाध्यायका अनुसार यस वर्षको मुख्य पूजा भदौ ११ गते परेको भए पनि एकै दिन अत्यधिक घुइँचो हुने भएकाले अगाडि नै पूजा सुरु गरिएको हो । परम्परा अनुसार बडीमालिकामा हरेक वर्ष जनैपूर्णिमाको अघिल्लो दिन अर्थात् साउन शुक्ल चतुर्दर्शीका दिन मुख्य पूजा हुने गर्दछ । गत वर्ष यहाँ ४५ हजारभन्दा बढी भक्तजनले दर्शन गरेका थिए ।

यस वर्ष देशका विभिन्न जिल्लाका साथै छिमेकी मुलुक भारतबाट समेत ठूलो सङ्ख्यामा दर्शनार्थी आउने अनुमान गरिएको छ । बाजुरा, डोटी र जुम्लाबाट पूजा सामग्रीसहित सरकारी टोली जाने परम्परा बमोजिम डोटीबाट सरकारी पूजा सामग्री (पेटारो) सहितको टोली साउन २८ गते नै प्रस्थान गरिसकेको छ ।

नेपाली सेनाले गत वर्ष बडीमालिका माताको नयाँ प्यागोडा शैलीको मन्दिर निर्माण गरेपछि यस क्षेत्रको आकर्षण अझ बढेको स्थानीय चन्द्र थापाले बताए । बडीमालिका नगरपालिकाका प्रमुख अमरबहादुर खड्काले पूजा तथा मेला व्यवस्थापनका लागि जिल्ला प्रशासन, स्थानीय तह र सुरक्षा निकायले तयारी तीव्र पारेको जानकारी दिए । मेलालाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन १४ बुँदे निर्णय गर्दै मन्दिर जाने मार्गमा सङ्केत चिह्न, साइनबोर्ड तथा सूचना पाटी राखिने र मदिरा, लागूपदार्थ एवं मासुजन्य वस्तु निषेध गरिने भएको छ ।

आपत्कालीन उद्धारका लागि जिल्ला प्रशासन, सुरक्षा निकाय र स्थानीय तह तयारी अवस्थामा रहेको निमित्त जिल्ला समन्वय अधिकारी दीपेन्द्र पाण्डेले बताए । स्थानीय तहले जिल्ला अस्पताल तथा स्वास्थ्य कार्यालयसँग समन्वय गर्ने र स्वास्थ्यकर्मीको सहयोगमा बाँकी व्यवस्थापनको नेतृत्व नेपाली सेनाले गर्नेछ ।

यसैबीच मेला अवधिभर सञ्चार सम्पर्क सहज बनाउन टेलिकमको फोरजी टावर सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । खराब मौसमका कारण उपकरण ढुवानीमा ढिलाइ भएपछि गत साउन २६ गते हेलिकप्टरमार्फत बडीमालिकाको त्रिवेणी पाटनमा उपकरण पुर्‍याइएको थियो । नेपाल टेलिकम दूरसञ्चार कार्यालयका प्रमुख ईश्वर सिंहका अनुसार उपकरण पुग्नुअघि नै प्राविधिक टोली पुगेको भए पनि सामान ढिलाइ भएकाले टोली फर्किएको थियो । प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार त्रिवेणी पाटनबाट टावर निर्माण स्थलसम्म सामान पुर्‍याउने काम भइरहेकाले मेला अगावै सञ्चार सेवा सञ्चालनमा आउनेछ ।

समुद्री सतहबाट चार हजार २०० मिटर उचाइमा अवस्थित बडीमालिका धार्मिक तथा प्राकृतिक दृष्टिले निकै महत्त्वपूर्ण मानिन्छ । मनमोहक त्रिवेणी क्षेत्र, २२ पाटन, खेतीबेती, विष्णुपानी र धर्मद्वार यहाँका प्रमुख आकर्षण हुन् । बडीमालिकाको दर्शन गर्नाले मनोकामना पूरा हुने र रोग निको हुने जनविश्वास रहिआएको छ ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।