काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको जनाएको छ ।
महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपाल नजिक अवस्थित छ ।
अहिले देशभर आंशिकदेखि साधारणतया बदलीको अवस्था छ । बागमती र गण्डकी प्रदेशका धेरैजसो भू-भागका साथै लुम्बिनी र कर्णालीका थोरै स्थान तथा कोशी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मध्यम वर्षा भइरहेको छ । यस्तै, गण्डकी प्रदेशका एक-दुई ठाउँमा भने भारी वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
आज दिउँसो पनि देशभर साधारणतया बदली नै रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली भू-भागका धेरै स्थान र कोशी तथा बागमतीका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । तराई क्षेत्रतर्फ लुम्बिनी र सुदूरपश्चिमका धेरै स्थान, बागमती र गण्डकीका केही स्थान तथा मधेश र कोशी प्रदेशका थोरै स्थानमा वर्षा हुनसक्नेछ । यसैगरी, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही पहाडी तथा तराईका भू-भागमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
रातिको समयमा पनि देशभर बदली कायम रहनेछ । हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षा वा हिमपातको सम्भावना छ । पहाडी र तराई भू-भागमा दिउँसो जस्तै विभिन्न स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको आकलन गरिएको छ । विशेष गरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी र तराईका थोरै स्थानमा भारी वर्षा तथा सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको जोखिम रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

