काठमाडौँ । देशभर धान रोपाइँ अन्तिम चरणमा पुगिसक्दा पनि किसानहरूले सहजरूपमा रासायनिक मल नपाएको भन्दै पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
मधेस लगायत मुलुकका विभिन्न क्षेत्रमा मलको चरम अभाव देखिएपछि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक प्रचण्डले विज्ञप्ति जारी गर्दै सरकारी प्रतिबद्धता र वास्तविक अवस्थाबीच ठूलो अन्तर देखिएको बताए । सरकारले समयमै पर्याप्त मल पुर्याउने आश्वासन दिए पनि व्यवहारमा किसानले सास्ती खेप्नुपरेको उनको भनाइ छ ।
बजारमा उपलब्ध गराइएको सीमित मलसमेत बिचौलिया र कालोबजारीका कारण वास्तविक किसानसम्म नपुगेको गुनासो बढेको उनले उल्लेख गरे । नेपालमा मल आयात गर्ने प्रक्रिया जटिल हुने भएकाले यसका लागि धेरै अघिदेखि नै पूर्वतयारी आवश्यक पर्नेमा उनले जोड दिएका छन् । आफू नेतृत्वको अघिल्लो सरकारले यो गम्भीरतालाई बुझेर समयमै मल आपूर्ति गर्नुका साथै आगामी आर्थिक वर्षका लागि समेत बजेट सुनिश्चित गरेको उनले स्मरण गराए ।
प्रचण्डले मल आयात प्रक्रिया तत्काल अघि बढाएर मौजुदा अभाव हटाउन, आगामी वर्षका लागि अहिल्यै तयारी थाल्न र कालोबजारी गर्नेहरूमाथि कडा कारबाही गरी पारदर्शी रूपमा मल वितरणको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।

