काठमाडौँ । छिमेकी मुलुक भारतले आफ्नो ८०औँ स्वतन्त्रता दिवसका अवसरमा आज विशेष औपचारिक कार्यक्रमहरूको आयोजना गर्दैछ ।
राजधानी नयाँदिल्लीस्थित ऐतिहासिक लालकिल्लामा आयोजना गरिने मुख्य समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदीले ध्वजारोहण गरी देशवासीका नाममा सन्देश दिने कार्यक्रम रहेको छ । यस पटकको उत्सवमा राष्ट्रिय गीत ‘वन्दे मातरम्’ को १५० वर्ष पुगेको अवसरलाई विशेष महत्त्व दिइनुका साथै सन् २०४७ सम्म भारतलाई विकसित मुलुकमा रूपान्तरण गर्ने अभियानमा युवा वर्गको भूमिकालाई केन्द्रमा राखिएको छ ।
समारोहका क्रममा झण्डात्तोलनसँगै २१ तोपको सलामी प्रस्तुत गरिनेछ भने त्यसलगत्तै राष्ट्रिय गीत र राष्ट्रिय गान गाइनेछ । सोही अवसरमा भारतीय वायुसेनाका हेलिकप्टरहरूले राष्ट्रिय ध्वजा र ‘वन्दे मातरम्’ अंकित झण्डासहित पुष्पवृष्टि गर्ने तयारी गरेका छन् ।
यस वर्षको उत्सवमा विभिन्न सैन्य निकाय, प्रहरी, राष्ट्रिय छात्र संगठन तथा युवा अभियानका गरी करिब २५ सय युवाहरूको सहभागिता रहनेछ । उनीहरूले लालकिल्ला परिसरको ज्ञानपथमा ‘वन्दे मातरम्’ लेखिएको आकर्षक आकृति प्रदर्शन गर्नेछन् । समारोह अवलोकनका लागि समाजका विभिन्न क्षेत्रका करिब ५ हजार विशिष्ट व्यक्तिहरूलाई आमन्त्रण गरिएको छ ।

