काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको जनाएको छ ।
हाल देशभर साधारणतया बादल लागेको छ । कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर साधारणतया बादल लाग्ने अनुमान छ । हिमाली भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना छ । पहाडी भू-भागका धेरै स्थानमा पनि मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुन सक्छ । तराईतर्फ कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भने भारी वर्षाको सम्भावना छ ।
त्यस्तै आज राति पनि देशभर साधारणतया बादल लाग्नेछ । हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना छ ।
कोशी, बागमती र गण्डकीका पहाडी भू-भागका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू-भागका थोरै स्थानमा वर्षा हुनसक्छ । तराई क्षेत्रमा भने कोशी प्रदेशका केही स्थान, मधेश, बागमती र गण्डकीका थोरै स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

